- by agenonews
- Jun 19, 2025
अगेनो न्यूज ः पुस १०- यसवर्ष दोलखामा २७ वटा सामुदायिक विद्यालयहरु एकिकरण गरिएको छ । जिल्लामा रहेको ९ वटा स्थानीय तहहरु मध्ये ५वटा पालिकाका २७ वटा सामुदायिक विद्यालयहरु एकिकरण गरिएको शिक्षा विकास तथा समन्वय इकाइ दोलखाका प्रमुख भरत भट्रराईले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लाको विगु गाउँपालिकामा सबै भन्दा कम एउटा र शैलुङ गाउँपालिकामा सबै भन्दा वढि १० वटा सामुदायिक विद्यालय एकिकरण गरिएको छ ।त्यस्तै जिल्लाको कालिञ्चोक गाउँपालिकामा ४ वटा,गौरीशंकर र तामाकोशी गाउँपालिकामा ६÷६ वटा सामुदायिक विद्यालयहरु एकिकरण गरिएको हो । विद्यार्थीहरु कम भएका विद्यालयहरु पालिकाहरुले एकिकरण गरेको पाईएको छ । दोलखाका सामुदायिक विद्यालयमा विद्यार्थीहरुको सङख्या घट्दो क्रममा रहेको पाईएको छ । जिल्लामा पछिल्लो समय सामुदायिक विद्यालयमा विद्यार्थी सङख्या घटने क्रममा रहेको शिक्षा विकास तथा समन्वय ईकाई दोलखाको तथ्याङकले देखाएको छ । जिल्लामा २०८१ सालमा सामुदायिक विद्यालयमा विद्यार्थीको सङख्या २८ हजार ३ सय ४६ जना रहेकोमा यसवर्ष घटेर २५ हजार ७० जना पुगेको शिक्षा विकास तथा समन्वय इकाइ दोलखाका प्रमुख भरत भट्टराईले जानकारी दिनुभयो । सरकारी विद्यालय प्रति अभिभावकको कमविश्वास हुनु,जन्मदर घटनु, बसाईसराई लगायतका कारण सामुदायिक विद्यालयमा विद्यार्थीहरुको सङख्या घटिरहेको छ ।