- by agenonews
- Jun 19, 2025
अगेनो न्यूज ः पुस २४- दोलखामा अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन तथा ओसारपसारमा संलग्न स्काई भेटर र ट्रिपरलाई जरिवाना लिईएको छ । जिल्ला प्रहरी कार्यालय दोलखाबाट खटिएको टोलीले गत मंसिर र यहि पुस महिनामा चेकजाँच गर्ने क्रममा अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन तथा ओसारपसारमा संलग्न एउटा स्काईभेटर र ट्रिपर नियन्त्रणमा लिएको थियो । गत मंसिर महिनामा भीमेश्वर नगरपालिका वडा नम्वर ८ स्थित चरङ्गे खोलाबाट वडा नम्वर ७ को साखिनेमा अवैध रुपमा ढुङ्गा वोकी ओसारपसार गर्दै गरेको अवस्थामा फेला पारेको बा ५ख ४५०३ नम्वरको ट्रिपर र पुस १९ गते बैतेश्वर गाउँपालिका वडा नम्वर ६तामाकोशी नदीको बगरमा ना१ क ७६१३ नम्वर को स्काई भेटरलाई मापदण्ड विपरीत नदीजन्य पदार्थ बालुवा,ढुंगा अबैध रुपमा उत्खनन गर्दै गरेको अवस्थामा प्रहरीले स्काई भेटर नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिईएका दुबै सवारीका साधनलाई जिल्ला समन्वय समितिमा बुझाईएको जिल्ला प्रहरी कार्यालय दोलखाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक श्रीराम तिमल्सिनाले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्ला समन्वय समिति दोलखाले अवैध उत्खननमा संलग्न स्काई भेटरलाई एक लाख रुपैयाँ र अवैध रूपमा ढुङ्गा ओसारपसारमा संलग्न टिफरलाई ३०हजार रुपैयाँ जरिवाना गरेको हो ।