- by agenonews
- Jun 19, 2025
अगेनो न्यूज ः पुस ५- दोलखाको भीमेश्वर नगरपालिकाबाट स्रोत नखुलेको करिब २० लाख रुपैयाँ नगदसहित दुई जना पक्राउ पर्नुभएको छ । जिल्लाको भीमेश्वर नगरपालिका वडा नम्वर ७ मकैबारी सडक आसपासको क्षेत्रबाट स्रोत नखुलेको १९ लाख ९२ हजार ५ सय रुपैंया नगद सहित दुई जना पुरुष पक्राउ पर्नुभएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरिक्षक श्रीराम तिमल्सीनाले जानकारी दिनुभयो । उहाँका अनुसार पक्राउ पर्नेमा लम्जुङको सुन्दरबजार नगरपालिका वडा नम्वर २ घर भई हाल ललितपुर बस्दै आएका ३८ वर्षीय रामचन्द्र शर्मा र झापाको मेची नगर नगरपालिका वडा नम्वर ७ स्थायी घर भई हाल भक्तपुर दुधपाटी बस्ने ४२ वर्षीय शेर बहादुर राउत रहनुभएको छ । सामान बोकेको झैँ गरि अस्वभाविक रुपमा झोला बोकी हिंडी रहनुभएको शर्मा र राउतलाई नगद सहित नियन्त्रणमा लिएको हो । सो रकम कसरी प्राप्त भएको भन्ने यकिन कारण खुल्न नसकेको प्रहरीले जनाएको छ । बुधबार पक्राउ पर्नुभएका दुवैजनालाई दोलखा जिल्ला अदालतबाट मुलुकी फौजदारी संहिता २०७४अन्तर्गत हुण्डी सम्बन्धी कारोवार गर्न नहुने शिर्षकमा म्याद थप गरी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।