- by agenonews
- Dec 09, 2025
अगेनो न्यूज,साउन-८ : नेपाली कम्युनिस्ट पार्टीका नेता भिम रावलले आफ्नो सामाजिक संजाल फेसबुक मार्फत रास्ट्रहितका सबै सहयोग स्वीकार अर्नुपर्ने बताएका छन । नेपाल दुई ठुला र शक्तिशाली देशको बिचमा रहेकोले दुबै देशबाट फाइदा लिन हरेक दल,सरकारले तत्परता देखाउनुपर्ने बताउदै मानिसहरूलाई अन्धराष्ट्रवादी, उग्र राष्ट्रवादी भन्दै होच्याउने र नेपाललाई सधैंका लागि पराश्रित, कमजोर र गरीब बनाइराख्ने खेल किनइ ? भनी प्रश्न गरेका छन ।
संसारको सबैभन्दा शक्तिशाली अमेरिकाले चीनबाट सन् २०११ सम्म १० खर्ब ३० अर्ब डलर ऋण लिएको थियो भने हाल चीनले स्वयं त्यसलाई घटाएर ६३३ अर्ब ४० करोड डलरमा झारेको छ। त्यस्तै युरोपका हँगेरी, जर्मनी, फ्रान्स, बेलायत, इटाली, सर्विया,स्पेन, नर्वे, स्विडेन, डेनमार्क, पोल्यान्ड लगायतका देशहरूमा कृषि, विद्युतीय व्यापार, स्वच्छ ऊर्जा, धितोपत्र बजार, साइबर सुरक्षा, विद्युतीय गाडी र कतिपय पूर्वाधार निर्माण जस्ता क्षेत्रमा चीनले धेरै ठूलो लगानी गरेको छ। चाइना युरोप रेलवे एक्सप्रेस सेवा चीनका १२९ सहरदेखि २६ युरोपेली देशका २३६ सहरसम्म जोडिएको छ। यसबाट व्यापार व्यवसायको लागि मालवस्तुको व्यापक ढुवानी हुन्छ। नेपाल चीनको छिमेकी मित्र भएर पनि यहाँ चीनको आधुनिक विकास र पुँजीबाट के हामीले उचित लाभ लिन सकेका छौ? यसरी लाभ लिनुपर्छ भन्ने धारणाको विरुद्ध विगतदेखि नै सरकारमा रहेका केही व्यक्तिहरुले निरन्तर क्रियाकलाप आखिर कसको इशारामा गरेका होलान्? जहाँसम्म भारतको कुरा छ, नेपालमा व्यापक रुपमा भारतीय मालवस्तुको आयात हुन्छ। तर यतिका वर्षसम्म नेपालले कतिपय भारतीय औद्योगिक उत्पादनको नेपालमा प्रविधि हस्तान्तरण गरी स्वदेशमा उद्योगधन्दा खोल्ने र उत्पादन बढाउने काम किन नगरेको? त्यसो गर्नुपर्छ भन्ने कुरा उठाउने हामी जस्ता मानिसहरूलाई अन्धराष्ट्रवादी, उग्र राष्ट्रवादी भन्दै होच्याउने र नेपाललाई सधैंका लागि पराश्रित, कमजोर र गरीब बनाइराख्ने खेल किन?
भारतले आर्थिक वर्ष २०२५-२६ मा चीनबाट १३१ अर्ब ६३ करोड डलरको सामान आयात गर्यो। चीनमा १९ अर्ब ४७ करोड डलरको सामान निर्यात गर्यो। भारतमा २०२५ सम्म चीनले २ अर्ब ५१ करोड डलर लगानी गरेको छ। भारतले यसरी चीनसँग स्वयं व्यापक कारोबार गर्ने अनि नेपालमा चिनियाँ लगानीको कुरा आउँदा त्यसप्रति भारतको विरोध हुन्छ भनेर नेपालका केही मानिसहरू बुर्लुक्क उफ्रिने किन? नेपालको राष्ट्रिय हितमा सरकार, दल, सचेत नागरिक सबैले गम्भीर रुपमा सोच्नु उपयुक्त हुनेछ।